प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने घोषणा गर्नुभएको छ । एकसय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो घोषणा गर्नुभएको हो ।
सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो, ‘यसैगरी सात वटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ । साथै पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ ।’
साथै प्रधानमन्त्री प्रचण्डले झन्डै ३४ प्रतिशत प्रजनन उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेसमेत बताउनुभयो ।

प्रधानमन्त्री प्रचन्डले पछिल्लो संविधान जारी भएपछि राजनीतिक रुपमा समेत महिलाको अधिकार र प्रतिनिधित्व सुनिश्चित हुँदै गएको बताउनुभयो । प्रचन्डले राज्यका विभिन्न तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भइसकेको भन्दै सभामुख र उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष सहित स्थानीय तहका प्रमुख र उपप्रमुखमा समेत फरक–फरक लिङ्गको प्रतिनिधित्व हुने गरी संवैधानिक व्यवस्था हुनुलाई उपलब्धि मान्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो–’राज्यका सबै तहमा, राजनीतिक दलहरूलगायत समाजका अन्य तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुन पुगेको छ । राष्ट्रपति र उपराष्ट्रपतिमा फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षसम्मका पदमा महिला अनिवार्य हुनुपर्ने उपलब्धि हामीले हासिल गरेका छौं । साथै संघीय र प्रादेशिक संसदमा ३० प्रतिशत महिला प्रतिनिधित्व, स्थानीय तहमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एक महिलासहित ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ,’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार