राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्दबहादुर न्यौपाने घाइते हुनुभएको छ । एकीकृत समाजवादी पार्टीबाट सप्तरी–४(१) बाट निर्वाचित सांसद न्यौपाने भोट हालेर फर्किने क्रममा चक्कर लागेर लडनुभएको हो ।
उहाँको टाउकोमा सामान्य चोट लागेको बताइएको छ । न्यौपानेलाई सुरूमा उपचारका लागि संसद् भवननजिकै रहेको सिभिल अस्पतालमा लगिए पनि अहिले राष्ट्रिय ट्रमा सेन्टर लगेर उपचार थालिएको छ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान सुरु भएको हो । बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । मतदान सकिएको बढीमा चार घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताउनुभएको छ ।