नयाँ राष्ट्रपतिको चुनावका लागि आज बिहीवार सम्पन्न भएको मतदानको मतगणना नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से कक्षमा जारी छ । आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतगणनापछि आजै विजयी उम्मेदवारलाई राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेश सभा सदस्यले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । देशको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व सभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्छ । साथै अर्का पूर्वसभामुख नेम्वाङ एमालेका उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३१ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार एक सय ४९ र प्रदेश सभा सदस्यको २६ हजार चार सय गरी कुल मतभार ५२ हजार पाँच सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार दुई सय ७५ मतभार ल्याउनुपर्छ ।
मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका दलका सांसद उपस्थित भएका थिए । । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार