निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै कायम गर्ने निर्णय भएको हो ।
फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निर्णय गरेका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको दुवै हुनुपर्ने अनिवार्य र बाध्यात्मक व्यवस्था नगरी लिंग वा समुदायको हुनुपर्ने संवैधानिक र कानुनी व्यवस्था भइरहेकोले खसआर्य समुदायभन्दा फरक मधेसी समुदायका पुरुष यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको भन्न नमिल्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताउनुभयो ।
पुरुष राष्ट्रपति निर्वाचित भइसकेकाले महिला मात्रै उपराष्ट्रपति उम्मेदवार हुनुपर्ने माग गर्दै उपराष्ट्रपतिमा यादवविरुद्ध एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमतका उम्मेदवार ममता झाले उजुरी दर्ता गराउनुभएको थियो । उपराष्ट्रपतिमा एमालेबाट शाक्य, जनमतबाट झासँगैँ जसपाबाट यादव र प्रमिला कुमारी उम्मेदवार बन्नुभएको छ । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।