कप्तान रोहित पौडेलको अर्धशतक अनि गुलशन झा र दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले यूएईलाई दुईसय४९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिविको त्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर दुईसय ४८ रन बनाएको हो ।
खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपालले पूरै ओभर ब्याटिङ गर्न सकेन । नेपालका लागि कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए । आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे । ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरमा आउट भए । कुशल भुर्तेल आठ र कुशल मल्ल नौ रन बनाएर आउट भए । २२ रनमै तीन विकेट गुमाएको अवस्थामा रोहितले भीमसँग चौथो विकेटका लागि ५४ र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे ।

रोहितले एकसय १२ बल खेल्दै नौ चौका प्रहार गरी ७७ रन बनाए । भीमले ३७ बल खेल्दै चार चौका मद्दतमा २९ रन बनाए । आरिफ शेखले ५२ बल खेल्दै पाँच चौका मद्दतमा ४३ रन बनाए । रोहित ३८औं ओभरमा आउट भएपछि आरिफले गुल्शन झासँग मिलेर छैटौं विकेटका लागि ३० रनको साझेदारी गरे । आरिफ ४३औं ओभरमा आउट हुँदा नेपाल १९२–६ को अवस्थामा थियो । तर गुल्शन र दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै सातौं विकेटका लागि ४८ रनको साझेदारी गरे । ४८औं ओभरमा आउट भएका गुल्शनले ३२ बल खेल्दै एक चौका र तीन छक्का मद्दतमा ३७ रन बनाए । नेपाली इनिङ्समा गुल्शन सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने ।
त्यसपछि नेपालले लगातार विकेट गुमायो । सन्दीप लामिछाने दुई रनमा आउट भए । दीपेन्द्रले १९ बल खेल्दै तीन चौका र दुई छक्का मद्दतमा ३४ रन बनाए । सन्दीप र दीपेन्द्र ४९औं ओभरमा आउट भए । सोमपाल कामी अन्तिम ओभरमा दुई रनमा आउट भए ।
यूएईका लागि आयान अफजल खान, जाहुर खान, रोहन मुस्ताफा र जावार परिदले २–२ विकेट लिए । आर्यन लाक्रा र जुनैद सिद्दिकीले समान एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार