दैलेखमा आज सोमबार दिउँसो बोलेरो जीप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको १ ज ५५ नम्बरको उक्त जीप आठबिस नगरपालिका–१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो । जीपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुई जनाको अवस्था गम्भीर रहेको र बाँकी १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा जिल्ला कालिकोट नरहरिनाथ गाउँपालिका–७ बस्ने ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीया दुर्गा बोगटी, ७ वर्षीया प्रतिक्षा बटला, त्रिबेणी गाउँपालिका–२ बस्ने १४ वर्षीय सरद विष्ट, नरहरिनाथ–५ बस्ने २० वर्षीया मनिषा बोगटी, सोही पालिका ८ नम्बर वडामा बस्ने ५५ वर्षीया गोपिकला विष्ट, ७ नम्बर वडाकी ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ६ वर्षीय राजकुमार बोगटी रहनुभएको छ ।
यस्तै, नरहरिनाथ गाउँपालिका–७ कै ६ वर्षीया स्वस्तिका बोगटी, १२ वर्षीया कल्पना सहकारी, ५ वर्षका भुवन बटाला, सोही पालिका–५ बस्ने १२ वर्षीय शुवास सहकारी र जीप चालक नरहरिनाथ–७ का २४ वर्षीय धन बहादुर बटाला घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेहरुलाई उद्धार गरी सुर्खेततर्फ पठाउने पहल भइरहेको छ । जीपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।