अब आउँदो वैशाख १०गते चितवन २, तनहुँ १ र बारा २ मा हुने उपचुनावको लागि आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समय सकिएको छ । उपनिर्वाचनको लागि दलहरुले आ–आफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गरीसकेको छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराउनुभएको छ ।
चितवन २ बाट उपचुनावका लागि कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्नुभएको छ । गत मंसिर ४ गते भएको चुनावमा चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपचुनाव हुन लागेको हो।
त्यस्तै गरी तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारूढ गठबन्धनका साझा उम्मेदवार भट्टराईकोे प्रस्तावकमा रघुनाथ पौडेल र समर्थकमा सरिता गुरुङ रहनुभएको छ ।
यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले पनि उम्मेदवारी गराउनुभएको छ । वाग्लेको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे रहनुभएको छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना उम्मेदवारी दर्ता गराइसक्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तनहुँ–१ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपचुनाव हुन लागेको हो।
त्यस्तै बारा क्षेत्र नम्बर २ बाट जनता समाजवाद पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गर्नुभएको छ । यसअघि मङ्सिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा यादव जनमत पार्टीका सीके राउतसँग पराजित हुनुभएको थियो ।
यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेल, आम जनता पार्टीका अरुण ज्ञवालीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली रहेको यस क्षेत्रमा उपचुनाव हुन लागेको हो ।
मनोनयन दर्तापछि आजै बेलुका ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्ने कार्यतालिका छ । भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । पर्सि बुधवार बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र त्यही दिन बेलुका ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गर्ने, चैत २३ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । आउँदो वैशाख १० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।