मितिः २०८१, २६ भाद्र बुधबार

प्रधानमन्त्री हसिनाले देश छोडे पछि बंगलादेशमा नयाँ सरकार बन्ने

बंगलादेशमा अब अन्तरिक सरकार गठन हुने भएको छ । चर्कँदो विरोध प्रदर्शनका बिच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि अब अन्तरिक सरकार गठन गरिने त्यहाँका सेना प्रमुखले बताएको बीबीसीले जनाएको छ । 

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै आज साँझसम्ममा कुनै समाधान आउने बताएको खबरमा उल्लेख छ। तर सरकारको नेतृत्व कस्ले गर्ने भन्ने बारेमा भने केही बताइएकाे छैन । 

सेना प्रमुखले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गर्दै धेरै जनधनको क्षति भएकले अब प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेको खबरमा उल्लेख छ । 

राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेर खुशी मनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको त्रिपुरा राज्यस्थित अगरतलातिर गएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए भने सडकमा सडकमा सेना उतारिएको थियो । सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो। यसक्रममा सयौँको मृत्यु भएको छ । हिजो मात्र ९१ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । 

प्रदर्शन गर्न सडकमा पुगेका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि हर्षोल्लास गरेका छन्। कतिपयले प्रधानमन्त्री कार्यालयबाट कुर्सी सडकमा फालेका र केहीले लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ ।