
अब आउँदो वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनको लागि २४ जनाकै उमेदवारी कायम भएको छ । चैत २० गते उमेदवारी दिएका उमेदवारको विरोधमा चैत २१ गते उजुरी दिने समय थियो ।
उमेदवार रवि लामिछाने विरुद्ध चार वटा उजुरी दर्ता भएपनि तीन वटामा दाबी विरोध नपुगेको र एउटामा हेर्न नमिल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको हो ।
उजुरीमाथि जाँचबुझ गरी कार्यालयले हिजो (बुधबार) उमेदवारको नामावली प्रकाशन गरेको हो । आज बिहान ९ बजेदेखि १ बजेसम्म उमेदवारको नाम फिर्ता लिन सकिने निर्वाचन कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।
त्यसपछि कार्यालयले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ । आजै साँझ ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।