
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने दुई सय एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
मोरङका तीनवटा परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने दुई सय एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
आज बिहीबार एक सय ९९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हिजो बुधबार दुई जना पक्राउ परेका थिए ।
प्रहरीले ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ५२ जनालाई नियन्त्रणमा लिएको हो । केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट एकसय २७ जनालाई पक्राउ गरेको छ । त्यस्तै सुन्दरहैचाको जनता माबीबाट २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको हो ।
सामाजिक शिक्षातर्फ परीक्षा दिने क्रममा सार्वजनिक माविमा एकसय २७ जना विद्यार्थी पक्राउ परेका हुन् । सो परीक्षा केन्द्रमा दुर्यसय ९८ जना विद्यार्थीले परिक्षा दिदै आएका थिए । परीक्षा दिने मध्ये झण्डै आधा परीक्षार्थी पक्राउ परेका हुन् ।
५३ जना विद्यार्थी पक्राउ परेको ग्रामथान गाँउपालिकास्थित सरस्वती माविमा दुईसय ९२ जना विद्यार्थीले परिक्षा दिदै छन् ।
सुन्दरहरैंचा नगरपालिकाको जनता माविमा तीनसय ११ जनाले परीक्षा दिदै आएका छन् । ती मध्ये २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हिजो बुधबार ग्रामथानकै सरस्वती माविमा खुल्लातर्फ विज्ञान विषयको परिक्षाका क्रममा कल्पना लिम्बूको परीक्षा दिने सुनसरी धरान उप–महानगरपालिका वडा नं–५ की २८ वर्षीय सुस्मिता लिम्बू पक्राउ पर्नुभएको थियो । लिम्बू पक्राउ परेपछि प्रहरीले थप दुई सय जनालाई पक्राउ गरेको हो ।
परीक्षा फारम भर्नामा एउटाको फोटो र प्रवेश पत्रमा अर्काको फोटो फेरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रञ्जन दाहालले बताउनुभयो । परिक्षार्थीले भेरिफाई गर्दा आफ्नो जन्ममिति पनि भन्न नसकेको उहाँको भनाई छ । एसईर्ईको परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गर्ने गिरोह नै सक्रिय रहेकाले अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।