दिलमानसिंह बस्न्यात, विष्णु थापा

 

कुनै पनि राष्ट्रको समुचित विकास, जनताको जीवनस्तरमा सुधार तथा सम्वृद्धिको लागि यातायातले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यात्रुको आवागमन तथा मालसामान ढुवानी गर्ने कार्य भनेका अर्थतन्त्रसँग जोडिएका प्रक्रियाहरू हुन् । जसले गर्दा यातायात अब्यबस्थित र असफल भएमा देशको अर्थतन्त्र पनि असफल हुन्छ र आशातीत सफलता प्राप्त गर्न सकिँदैन । तर यातायात सञ्जालको क्रमिक विस्तार र त्यसको जटिल व्यवस्थापन, सहरी तथा ग्रामीण क्षेत्रमा यातायातको बढ्दो माग, यातायातलाई सबैको सहज पहुँच एवम् सुरक्षित बनाउनु र सहरी तथा ग्रामीण क्षेत्र बिचका प्रतिकूलता र असमानतालाई कम गर्नु जस्ता चुनौती ज्यादै गम्भीर हुँदै आएका छन्।

नेपालको संविधानले हरेक नागरिकलाई स्वतन्त्र आवागमन गर्ने मौलिक अधिकारको ग्यारेन्टी गरे बमोजिम उपयुक्त यातायातको विकास गर्नु अति जरुरी छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०२० को सेप्टेम्बरमा सवारी दुर्घटनाबाट हुने क्षतिलाई सन् २०३० सम्ममा ५० प्रतिशतमा सीमित गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यका साथ २०२०-२०३० को दशकको घोषणा गर्दै “विश्व सडक सुरक्षामा सुधार गर्ने’’ प्रस्ताव पारित गर्‍यो । विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र क्षेत्रीय आयोगहरूले अन्य साझेदारहरूसँगको सहकार्यमा सडक सुरक्षा दशकका लागि सन्२०२१ को अक्टोबरमा विश्वव्यापी कार्य योजना जारी गरेको थियो ।

राष्ट्रसङ्घको महासभाले मार्च २०१० मा आधिकारिक रूपमा घोषणा गरेको सडक सुरक्षा दशक (सन्२०११-२०२०) र उपरोक्त विश्वब्यापी कार्य योजनाले विश्व सडक सुरक्षामा सुधार गर्ने प्रस्ताव पारित गर्दै सदस्य राष्ट्रहरूलाई नितान्त सडक सुरक्षासँग सम्बन्धित विषयलाई समेटी आ-आफ्नो कार्य योजना तर्जुमा गर्न निर्देशन गरे अनुरूप नेपाल सरकारले पनि एकीकृत रूपमा सडक सुरक्षालाई सुधार र व्यवस्थित गर्नको लागि नेपाल सडक सुरक्षा कार्य योजना (बि.सं.२०६७–२०७७) कार्यान्वयनमा ल्याएको थियो । जस अन्तर्गत नेपालको सार्वजनिक सवारीलाई भरपर्दो, सुरक्षित, वातावरण मैत्री तथा सर्वसाधारणको पहुँचमा पुर्‍याइ रोजगारी सृजना गर्नुका साथै आर्थिक विकासमा टेवा पुर्‍याउने गरी विकास गर्ने लक्ष्य लिएको भएता पनि सरकारले लिएको उक्त लक्ष्य पुरा हुन सकेन ।

नेपाल सरकारले अगाडी सारेको सडक सुरक्षा कार्य योजनाको सन्दर्भमा यसको समीक्षा तथा सवारी दुर्घटना कम गर्ने उपाय बारे सुझाव दिन बनेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले  २०७७ सालको असार ८ गते, सरकारले लिएको उक्त योजना कार्यान्वयन भएको नदेखिएको तथा सडक सुरक्षाका लागि बेग्लै ‘रोड सेफ्टी परिषद्’ बनाउन सुझाव सहितको प्रतिवेदन दिएको थियो । प्रतिवेदनका सुझावका सम्बन्धमा हाल केही काम अगाडी बढेको अवस्था रहे पनि त्यो अझै पर्याप्त र पूर्ण भने छैन । सवारी दुर्घटना घटाउन अब चालकको योग्यतासँगै दायित्व पनि तोक्ने कानुनको खाँचो छ । जसरी हुन्छ दुर्घटनाबाट हुने जनधनको क्षति कम गर्नु राज्यको प्रमुख दायित्व हो ।

दुर्घटनाको कारण पहिचान भइसकेको अवस्थामा सडक यात्रालाई सुरक्षित र भरपर्दो बनाउन राज्यले जुनसुकै कदम चाल्न पनि चुक्नु हुँदैन । हरेक वर्ष हुने दुर्घटनाको सङ्ख्या, त्यसबाट हुने मानवीय र भौतिक क्षतिको मूल्याङ्कन नै छैन । दुर्घटनाबाट हुने सबभन्दा ठुलो क्षति मानवीय क्षति नै हो । आफन्त गुमाउनु पर्दा परिवारका अन्य सदस्य र आश्रितहरूले सहनुपर्ने पीडा अकल्पनीय हुन्छ । सवारी दुर्घटनाले अक्सर आर्थिक क्रियाकलापमा संलग्न जनशक्तिलाई असर पार्ने भएकाले दिनानुदिन राज्यले उत्पादनशील नागरिक गुमाइरहेको वा उनीहरूलाई क्षमताविहीन बनाइरहेको अवस्था छ । दिगो विकास लक्ष्यका अनुसार २ वर्षभित्र नेपालले सडक दुर्घटनामा परि मृत्यु तथा घाइते हुनेको सङ्ख्या आधाले घटाउने सहमति जनाएको छ तर दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको छ । यो हाम्रा लागि ठुलो चुनौती बनेको छ । समयमै सडक सुरक्षा प्रति तथा ट्राफिक व्यवस्थापनबारे गम्भीर नबन्ने हो भने ट्राफिक समस्या राज्यको नियन्त्रण बाहिर जान सक्छ । स्थानीय तथा प्रदेश सरकारहरू,  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गम्भीर बन्नुपर्ने देखिन्छ । भौतिक पूर्वाधारको अभाव, वैज्ञानिक उपकरण कमी, सवारी चालक र सडक

प्रयोगकर्ताको मिचाहा प्रवृत्ति तथा दक्ष जनशक्तिको अभावले ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको छ । जबसम्म ट्राफिक व्यवस्थापन गर्न सरोकारवाला निकायहरू गम्भीर बन्दैनन्, ट्राफिक प्रहरीको पहलबाट मात्र यत्रो विकराल समस्या समाधान हुने सम्भावना कम छ । भत्केका खाल्डाखुल्डी सडक मर्मत, सडकका पेटीमा राखिएका अनधिकृत फुटपाथ पसल नियन्त्रण,  सडक पेटी सवारी गुड्ने सडकका दायाँबायाँ भागमा निर्माण सामाग्री राख्न प्रतिबन्ध तथा ‘पकेट पार्किङ’को व्यवस्था लागू गर्न सके तत्कालका लागि ट्राफिक व्यवस्थापनमा सुधार आउन सक्छ । र यति विषयमा पनि गम्भीर नहुनु सरोकारवाला पक्षको कमजोरी पनि हो । विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययन अनुसार, विश्वमा सवारी दुर्घटनाका कारण हरेक वर्ष करिब १३ लाख मानिसको मृत्यु हुने गरेको छ । जसमा ५ वर्ष देखि २९ वर्ष उमेर

समूहका मानिसहरूका लागी सवारी दुर्घटना, अकाल मृत्युको मुख्य कारण हो । जसको कारण विश्वभरका देशहरूले ठुलो मानवीय तथा आर्थिक क्षति व्यहोर्नु परेको छ । यी घटनाहरूको फलस्वरूप सम्बन्धित देशहरूको कुल राष्ट्रिय उत्पादनको ३ प्रतिशत सम्मको आर्थिक क्षति सवारी दुर्घटनाबाट हुने गर्दछ । त्यस्तै ९३ प्रतिशत मृत्यु जन्य सवारी दुर्घटना हाम्रो जस्तो कम विकसित तथा मध्य आय भएका देशहरुमा हुने गरेको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने अव्यवस्थित सडक र ट्राफिक व्यवस्थापनको अभावमा सवारी दुर्घटनाबाट उपत्यकामा मात्रै बितेका ३ वर्षमा ५ सय ४३ जनाले ज्यान गुमाएका छन्। ७ सय ४४ जना गम्भीर घाइते भएका छन् भने २३ हजार ६ सयभन्दा बढी घाइते  भएका छन् अनि अरवाैँ रूपैयाँको भौतिक क्षति भएको छ । नेपालभर ट्राफिक नियम उल्लङ्घन तथा सडकको दुरावस्थाकै कारण भएका सवारी साधन दुर्घटनामा दैनिक सरदर ७ जना बढिले ज्यान गुमाउँदै आएका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै देशभर २३ हजार ५ सय ९७ सवारी दुर्घटना भएकोमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ३ सय ७६ रहेको छ ।

यस्तै, ५ हजार ७ सय जना भन्दा बढी गम्भीर घाइते तथा २४ हजार ४ सय भन्दा बढी सामान्य घाइते भएका छन्। सवारी दुर्घटनामा हुने मृत्युमध्ये आधाभन्दा बढी जोखिममा रहेका सडक प्रयोगकर्ताहरू पैदल यात्री, साइकल चालक र मोटरसाइकल चालकहर र तिनीहरूका यात्रु हुन्, जसलाई सामूहिक रूपमा “सडकको कमजोर प्रयोगकर्ता“ भनेर चिनिन्छ । उच्च आय भएका देशहरू भन्दा कम आय भएका देशहरूमा जोखिममा रहेका सडक प्रयोगकर्ताहरूको उच्च अनुपातमा मृत्यु हुने गरेको छ । यसरी हुने ठुलो धनजनको क्षतिलाई कम गर्न तथा सवारी दुर्घटनामा ज्यान गुमाएका एबं पीडितहरुको सम्झनामा “ट्राफिक पीडितहरूको सम्झना दिवस” प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबार मनाउँदै आइएको छ । “विश्व सम्झना दिवस” त्यही करोडौँ सडक दुर्घटना बाट पीडित, तिनका परिवार र समाजलाई सम्झने दिनको रूपमा लिइन्छ । यो सन् १९९३ मा पहिलो पटक संयुक्त अधिराज्यमा (बेलायत) मनाइएको थियो ।

संयुक्त राष्ट्र सङ्घले पनि हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबारलाई विश्व सम्झना दिवस, सडक दुर्घटना पीडितका लागि मनाउने निर्णय सन् २००५ को अक्टोबर २६ मा गरेको थियो ।  जसअनुसार नेपालमा पनि मङ्सिर ३ गते विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

यसै सन्दर्भमा सडक दुर्घटना पीडितलाई सम्झनका लागि, सुरक्षित र दिगो यात्रा नेपाल Safe and Sustainable Travel nepal ले हरेक वर्ष यस दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको । गत वर्ष नेपालका सातै प्रदेशको विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेको संस्थाले यस वर्ष पनि प्रभावकारिताको साथ सडक सुरक्षा सम्बन्धी हाजिरी जबाफ, र्‍याली, दीप प्रज्वलन, गोष्ठी, तथा सडक सुरक्षा प्रभात फेरी लगायतका कार्यक्रम गरेको छ । संसारका सडकहरूमा मारिएका र गम्भीर घाइते भएका लाखौँ मानिसलाई सम्झने र सबै प्रभावित, परिवारहरू र

समुदायको पिडालाई स्वीकार तथा आत्मसात् गर्ने, यस्ता पिडालाई हटाउन, घटाउन आ- आफ्नो तह र तप्काबाट प्रतिबद्ध रहने यो विशेष दिन पनि हो । सडकमा हुने मृत्यु, ठुलो मात्राको चोटपटक, यसको प्रभाव, असर अन्त्यका लागि आह्वानसहित एक प्रकारको नरसंहारको रूपमा रहेको सवारी दुर्घटना रोक्न ठोस वकालतका लागि समेत यो दिनको विशेष महत्त्व रहेको छ । विश्व सम्झना दिवसले दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिहरू, तिनका परिवार, समाजलाई हामी सिङ्गो राष्ट्र उनीहरूको साथमा छौ भनेर दुख बाँड्छौ, आउँदो दिनहरूमा त्यस्ता दुर्घटना हुन नदिन आफू पनि सजग हुने र अरूलाई पनि सजग बनाउने सङ्कल्प गर्छौ । त्यसैले यो कार्यक्रमको उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउनु पनि हो ।

अन्त्यमा, सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झना दिवसको सन्दर्भका अवसरमा दुर्घटनाका बखत तत्काल मानवीय सेवा प्रदान गर्ने आपतकालिन टोलीहरू, प्रहरी, चिकित्सक सबैमा हार्दिक नमन, ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूमा शीघ्र स्वास्थ्यलाभको कामना सहित ट्राफिक नियमप्रति सजग, सचेत र संवेदनशील हुन अभिप्रेरणा जागृत हुन सकोस् सबै सबैमा शुभ-कामना ।
(लेखक थापा प्रहरी वरिष्ठ नायव निरीक्षक र बस्न्यात ट्राफिक र यातायात इन्जिनियर तथा सुरक्षित र दिगो यात्रा नेपालका कोषाध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार