नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी आज शुक्रवार जेल चलान हुनुभएको छ । १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी हिजो बिहीवार बेलुका कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनुभएको थियो । उहाँलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराइ कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो । फरार सूचीमा रहनुभएका चौधरीलाई हिजो बिहीवार बाँकेबाट पक्राउ गरी नेपालगञ्जबाट जहाजमा काठमाडौं लगिएका थियो । फेरी हिजो बिहिवार नै जहाजमार्फत धनगढी पु¥याइएको थियो ।
सांसद चौधरी नौ वर्षदेखि फरार हुनुहुन्थ्यो । कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दर्ता गराउनु भएको थियो । विसं २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद चौधरीसहित पर्शुराम र वीरबहादुर गरी तीन जनालाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतले पीडितलाई आठ लाख १८ हजार चार सय २३ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनेसमेत फैसला गरेको थियो ।
सांसद चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति पार्टीले भने विरोध गर्दै आएको छ । सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनुपर्ने भएपनि अनुमतिबिना नै चौधरीलाई पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ । तर, यता प्रहरीले भने फौजदारी अभियोगका अभियुक्तलाई पक्राउ गर्न सभामुखको अनुमति लिन नपर्ने व्यवस्था भएकाले आफूहरूले कानुनअनुसार नै पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरेको बताएको छ ।चौधरी पक्राउ परेको विरोधमा हिजो नै नागरिक उन्मुक्ति पार्टीले विज्ञप्ति निकालेर सांसद चौधरीलाई रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएको थियो । २४ घन्टाभित्र रिहाइ नगरे आन्दोलनमा जाने पार्टीले चेतावनी समेत दिएको छ ।