मितिः २०८१, ६ जेष्ठ आईतवार

अब्बल बन्दै चितवनका दुग्ध सहकारी, दुग्धजन्य उत्पादनदेखि बजारीकरणसम्म गरिँदै

चितवनका दुग्ध सहकारीहरु अब्बल बन्ने प्रयासमा छन् । यहाँका दुग्ध सहकारीहरु दुग्धजन्य परिकारको उत्पादनमात्र होइन, आफैँले बजारीकरणसम्म गरेका छन् । चितवनका करिब एक दर्जन दुग्ध सहकारीहरुले आउँदो आर्थिक वर्षसम्म दुग्धजन्य परिकारको उत्पादनमात्र होइन, बजारीकरण गर्ने अवस्थासम्म पुग्ने जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताउनुभयो ।
भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध सहकारीले विगत पाँच वर्षदेखि दुग्धजन्य परिकारको उत्पादनदेखि आफ्नै ब्रान्डको दूध बजारसम्म पु¥याइरहेको छ । जिल्लाकै अब्बल दुग्ध सहकारीको रुपमा दरिएको अन्नपूर्णले दैनिक छहजार लिटरभन्दा माथि दूध संकलन गर्दै आएको छ ।
यस सहकारीले बनाएको दुग्धजन्य ब्रान्डका परिकारहरु (दही, पनिर, कुरौनी, घिउ, नौनी बटर, क्रिम) चितवनका बजारमा मात्र होइन, काठमाडौँलगायतका सहरमा पुगेका छन् । अन्नपूर्ण सहकारीको दुग्धजन्य परिकारमा ‘अन्नपूर्ण’ ब्रान्ड लेखिएको हुन्छ, जुन अहिले चितवनलगायत प्रमुख सहरका उपभोक्ताको रोजाइ बनिरहेको छ ।
यस्तै, भरतपुर–१३ मा रहेको गंगानगर दुग्ध सहकारीले पनि गत वर्षदेखि आफ्नै ब्रान्डको दूध बजारमा लगिरहेको छ । यस सहकारी २०४९ सालमा स्थापना भएको हो । उक्त सहकारीले दूध संकलनमात्र नगरी आफैँले दुग्धजन्य परिकार बनाएर बजारमा लगिरहेको गंगाधर सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उक्त सहकारीले किसान र स्रोत केन्द्रबाट गरी दैनिक छ हजारभन्दा बढी लिटर दूध संकलन गर्दै आएको छ । सहकारीमा पाँच सयभन्दा बढी किसान आबद्ध रहेका छन् । ‘गंगा’ ब्रान्डको दूध र दुग्धजन्य परिकारहरुको उत्पादन र बजारीकरण गर्दै आएको छ ।
सहकारीको आफ्नै नमुना पशुपालन फार्म पनि सञ्चालनमा ल्याएको अध्यक्ष सापकोटा बताउँनुहुन्छ । यस सहकारीको दुईवटा सेवा केन्द्र पनि रहेको छ । दूध आफैँले प्रशोधनगरी दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिमलगायतका विभिन्न मिठाईका उत्पादन गर्दै आएको छ ।
रत्ननगर–१६ मा रहेको पिठुवा दुग्ध उत्पादक सहकारीले पनि दुग्धजन्य परिकारलाई बजारमा लगेको छ । यस सहकारीका ब्रान्डका दुग्धजन्य परिकारहरु लोकप्रिय बन्दै गइरहेको छ । यस्तै, खैरहनी नगरपालिकामा रहेको नन्दिनी दुग्ध सहकारीले पनि दुग्धजन्य परिकारको उत्पादनदेखि बजारीकरणसम्म गरिरहेको छ ।
चितवनका दुग्ध सहकारीहरु संकलन केन्द्रमात्र नभई, उत्पादनमुखी र बजारीकरण पनि आफैँ गरिरहेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बगाले बताउनुहुन्छ ।
दुग्धजन्य परिकारको उत्पादनमा भरतपुर–६, देवनगर दुग्ध उत्पादक सहकारी, गौरीगञ्ज दुग्ध उत्पादक सहकारी, रत्ननगर–५ को गौरीधारा दुग्ध उत्पादक सहकारी लागिरहेका छन् । दुग्धजन्य परिकार उत्पादनदेखि बजारीकरणसम्म गर्दा सहकारीका धेरै समस्या रहेका छन् । तर, उनीहरुको प्रयास भने सराहनीय नै रहेको बगालेको भनाई छ ।
कतिपय दुग्ध सहकारीले आफ्नै गाइफर्म चलाइरहेका छन् । गंगानगर दुग्ध सहकारी र प्रेमबस्ती दुग्ध सहकारीले आफ्नै गाईफर्म चलाइरहेका छन् । चितवनका सात पालिकाहरुले दूध उत्पादनमा केही न केही अनुदान दिइरहेका छन् । चितवनमा एकसय ४० दुग्ध सहकारी दर्ता भएर सञ्चालनमा आएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.