मितिः २०८१, ६ जेष्ठ आईतवार

स्याङ्जाको पुतलीबजारमा एकै वडाबाट १४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री

स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोड रुपैयाँसम्म आम्दानी गरेका हुन् । जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नम्बर वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका मुक्ति अधिकारीले जानकारी दिनुभयो ।
उक्त वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै भएकाले न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाख रुपैयाँसम्म आम्दानी हुने उहाँको भनाई छ ।
पाँच–सात लाखदेखि १५–२० लाख रुपैयाँ आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफैँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन् । कोदो तथा मकै खेतीबाट जीविकोपार्जन गरिरहेका किसानले अहिले व्यावसायिक रुपमा सुन्तला खेती गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि त्यहाँका किसानहरुले नयाँ बोट थप्न थालेका छन् । अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने जनाइएको छ ।
गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढे पनि बजार मूल्य गत वर्षको जति पनि नहुँदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउँछन् । प्रतिकेजी ५५ रुपैयाँबाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी ९० मा रुपैयाँमा बिक्री भइरहेको छ ।
अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन् । स्याङ्जामा यस वर्ष एक अर्ब २५ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.