मितिः २०८१, १९ बैशाख बुधबार

छ महिनाका लागि बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुनुएको छ ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उहाँ राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघले जनाएको छ ।
उहाँ छ महिनाको लागि मात्रै नेपालको प्रशिक्षक नियुक्त हुनुभएको हो । उहाँको कार्यकाल मार्चदेखि अगष्टसम्म हुनेछ । छ महिनाका लागि मात्र नेपाल आउने उहाँले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिनुहुनेछ । जानले आगामी सेप्टेम्बरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नुहुनेछ ।
तर एसियन गेम्सको बेला भने उहाँ फर्किनुहुनेछ भने नयाँ प्रशिक्षक आउने छन् । जान फर्केपछि हान अबिङ एसियन गेम्सको लागि आउनुहुनेछ । हानले यसअघि पनि नेपाल आएर दुवै पटक काम गरिसक्नुभएको छ । हानले एसियन गेम्सका बेला ४५ दिन टिम हेर्नुहुनेछ ।
यसअघि पनि एआईभीबीको सहयोगमा नेदरल्याण्ड्सका प्रशिक्षकहरु म्याट भान विजल, लेस्ली जे जोङ र हान अविङले नेपालमा आएर प्रशिक्षक दिइसक्नुभएको छ । नेपाली भलिबलको विकासका लागि एआईभीबीले विदेशी प्रशिक्षक पठाएर सहयोग गर्दै आइरहेको छ । जसले गर्दा नेपाली भलिबललाई सहयोग पुगेको छ ।
बेल्जियमका पूर्व भलिबल खेलाडी समेत रहनुभएका जान ब्रान्ट बेल्जियम र हंगेरीको महिला भलिबल टिममा समेत काम गरिसक्नुभएको छ । यस्तै बेल्जियम र टर्कीका विभिन्न टिमको समेत प्रशिक्षकको रुपमा काम गरिसक्नुभएका ६४ वर्षीय जानसँग साढे दुई दशक भन्दा बढी प्रशिक्षण अनुभव छ । त्यस्तै अब आउँदो फागुन ४ गतेदेखि नेपाल भलिबल संघले महिला भलिबलको प्रशिक्षण सुरु गर्ने भएको छ । आगामी मेमा नेपालमै आयोजना हुने काभा महिला सेन्ट्रल जोन भलिबलललाई मध्यनजर गर्दै प्रशिक्षण सुरु गर्न लागिएको हो ।
महिला टिमको प्रशिक्षणमा १८ जना राख्ने बताइएको छ । सुरुमा नेपाली प्रशिक्षकले नै प्रशिक्षण गराउनेछन् । नेपाल भलिबल संघले पहिलो पटक महिला सेन्ट्रल जोन आयोजनाको अधिकार पाएको हो । यसअघि पनि नेपालको महिला टिमले बंगलादेशमा भएको दुई संस्करणको सेन्ट्रल जोनको उपाधि जितेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.